Saturday, June 29, 2013

अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका सबै आप्रवासीहरुले अमेरिकी ग्रीनकार्ड र नागरिकता पाउने कानुनी बाटो खुल्ने।

अमेरिका, असार १४ । अमेरिकामा गैरकानुनी रुपमा बस्दै आइरहेका एक करोड बाह्र लाखभन्दा बढी आप्रवासीहरुका लागि बिहिवार एक ऐतिहासिक दिन बनेको छ। बृहत अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले हिजो बहुमतले पारित गरेको छ। अब यो विधेयकलाई संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ (कंग्रेस) ले पनि पारित गरेमा अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका सबै आप्रवासीहरुले अमेरिकी ग्रीनकार्ड र नागरिकता पाउने कानुनी बाटो खुल्नेछ।

बिहीवार सिनेटमा यस विधेयक पारित गराउने विषयमा भएको मतदानमा ६८ जनाले सुधार विधेयकको पक्षमा मत जाहेर गरे भने विपक्षमा ३२ मत परेको थियो। ५२ डेमोक्र्याट सिनेटरसहित विपक्षी रिपब्लिकन पार्टीका १४ जना सिनेटरले पनि यो विधेयकको पक्षमा मत जाहेर गरेका थिए। सिनेटमा कूल सदस्य संख्या १०० रहेको छ। जसमध्ये ६० जनाले कुनै पनि विधेयकको पक्ष वा विपक्षमा मतदान गरेपछि त्यस्तो विधेयक पारित हुने गर्दछ। १०० मध्ये हाल ५३ डेमोक्र्याट, २ स्वतन्त्र र ४५ जना रिपब्लिकन सिनेटर रहेका छन्। यो विधेयकलाई पारित गर्नु अघि सिनेटमा सीमा सुरक्षामा कडाई गर्ने र यसका लागि जनशक्ति थप गर्ने लगायतका विषयमा दुवै पार्टीका सिनेटरहरुबीच सहमति भएको थियो। करीब १२०० पृष्ठको यो विधेयक तयार गर्नका लागि दुवै पार्टीका चार चार सिनेटर जसलाई ग्यांग अफ आठ भनिन्छ,ले निकै मेहनेत गरेका थिए। यो विधेयक पारित भए लगत्तै ग्यांग अफ आठले सिनेटरहरुलाई धन्यवाद दिएका छन्।

यो विधेयक अब कंग्रेसमा जानेछ। कंग्रेसले पनि बहुमतले पास गरेमा राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेपछि यो कानुन बन्नेछ। तर कंग्रेसमा रिपब्लिकनहरुको बहुमत रहेका कारण यसलाई जस्ताको तस्तै पास गराउन चाहिं ह्वाइट हाउस र डेमोक्र्याटहरुले निकै मेहनेत गर्नुपर्नेछ। कंग्रेसमा रिपब्लिकन पार्टीका नेता एवं सभामुख जोन बोयनरले अध्यागमन सुधारसम्बन्धी कंग्रेसले आफ्नै विधेयक पारित गर्ने बताएर सिनेटबाट पारित भएको विधेयकलाई जस्ताको तस्तै कंग्रेसले पारित नगर्ने चुनौती दिएका छन्। 'हामी आफ्नै बहुमत र अधिकांश अमेरिकीहरुको भावनालाई सम्बोधन गर्नेछौं'बोयनरले भनेका छन्। अध्यागमन कानुनमा सुधारका लागि अनुदारवादी देखिएका रिपब्लिकनहरुले गैरकानुनी तवरबाट बसिरहेका आप्रवासीहरुलाई नागरिकता दिएर पुरस्कृत गरिनु नहुने भन्दै यसको विरोध गर्दै आएका छन्। यसका लागि उनीहरुले पहिले सीमामा कडाई सहितका कार्यहरु पुरा गर्नुपर्ने माग गरेका छन्। 


यसैबीच राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालको मूख्य एजेन्डा बनाएको अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई सिनेटले पारित गरेकोमा स्वागत गर्दै सिनेटको यो निर्णय देशको जर्जर आप्रवास कानुन सुधारको लागि एक महत्वपूर्ण कदम भनेका छन्। 'अब हाउस(कंग्रेस) ले पनि यस्तै निर्णय गर्नुपर्ने जिम्मेवारी आएको छ,कंग्रेसले यो कार्य पुरा गर्नैपर्छ 'ओबामाले भनेका छन्। यो विधेयक पारित भएपछि अमेरिकामा गैर कानुनी रुपमा रहेका नेपाली मूलका आप्रवासीहरुले पनि नागरिकता पाउने बाटो खुल्नेछ। तर यस्ता नेपाली आप्रवासीहरुको संख्या कति होला भन्ने चाहिं प्रष्ट छैन।

तीन दशकदेखि न्यूयोर्कमा बसेर अध्यागमन कानुनमै वकालत गर्दै आउनु भएका नेपाली मूलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता खगेन्द्र जीसीले बिहीवार साँझ टेलिफोनमा कुरा गर्दै यो विधेयक आप्रवासीहरुका हितका लागि निकै महत्वपूर्ण छ भन्दै सिनेटले पारित गरेपछि अब दुई महिनाभित्रै कंग्रेसले पनि यथावत वा केही थपघट गरेर पारित गर्न सक्ने जानकारी दिए। सिनेटले पारित गरेको विधेयकमा सन् २०११ को डिसेम्वर ३१ तारिखभित्र अमेरिका प्रवेश गरेको कुनै पनि आप्रवासी व्यक्तिले नागरिकता लिने बाटो खुल्नेछ। यद्यपि यसका लागि अध्यागमन कानुनको विद्यमान प्रक्रिया चाहिं पुरा गर्नैपर्छ। यसैगरी विभिन्न विषयका दक्ष व्यक्तिलाई अमेरिकाले प्रदान गर्ने भिसामा पनि वृद्धि हुनेछ।

सन् १९८६ यता अध्यागमन सुधारमा नयाँ कानुन बन्न लागेको यो पहिलोपटक हो।

नेपाल मामिलामा जानकार राख्ने र नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा आफ्नो समर्थन समेत गरेका सिनेटर पेट्रिक लेहीले सिनेटले अध्यागमन सुधार विधेयक पारित गरेको बिहीवारको दिनलाई ऐतिहासिक भनि टिप्पणी गरेका छन्।' आजको दिन सिनेटमा अर्को एक ऐतिहासिक दिन हो,यो विधेयकले आप्रवासीहरुका परिवारलाई पुनर्मिलन गराउछ,छायाँमा रहेका लाखौं व्यक्तिलाई कानुनको दायरामा ल्याउछ,यसले रोजगारी वृद्धि गराउछ र हाम्रो बजेट घाटालाई पनि कटौती गर्छ अनि हामीलाई अझ अबधी सुरक्षित बनाउछ;लेहीले भनेका छन् ।

अमेरिकाको सर्वोच्च अदालतले समलिंगी विवाहिता जोडीलाई संघीय सरकारले समान सुविधा दिनुपर्ने भनि ऐतिहासिक फैसला गरेको भोलिपल्टै सिनेटले यसरी अध्यागमन विधेयकलाई पारित गर्नु संयोग मात्र नभएको कतिपयको टिप्पणी छ।

No comments:

Post a Comment